खोटाङ । सामान किन्न आएकी १३ वर्षीया बालिकालाई यौन प्रस्ताव राख्दै दुव्र्यवहार गरेको आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका २३ वर्षीय धनीराम कटवाल पक्राउ परेका छन् । दिक्तेल बजारस्थित मानव अधिकार चोकमा स्टेसनरी पसल सञ्चालन गर्दै आएका कटवालले पसलमा ब्रासलेट (हातमा लगाउने गहनाजन्य सामान) किन्न आएकी बालिकालाई कोठाभित्र बोलाएर यौन प्रस्ताव राख्दै दुव्र्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
दिक्तेलस्थित माटीकोरेमा बुबाआमासँगै बस्दै आएका कटवाललाई बुधबार साँझ स्टेसनरी पसलबाटै पक्राउ गरेर बिहीबार बाल यौन दुव्र्यवहार अन्तरगत मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिनुभएभएको छ । पक्राउ परेलगत्तै हिरासतमा राखिएका कटवालविरद्ध लागेको आरोपका विषयमा छानबिन गर्न जिल्ला अदालत खोटाङबाट बिहीबार तीन दिनको समय लिएर कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
विद्यालय छुट्टी भएपछि घर फर्कनेक्रममा करिब ५ बजेतिर सामान किन्न दिक्तेलस्थित मानव अधिकार चौकमा सञ्चालित स्टेसनरी पसल गएको समयमा पसल सञ्चालक धनीराम कटवालले आफूलाई यौन प्रस्ताव राख्दै दुव्र्यवहार गरेको पीडित बालिकाले बताएकी छन् । “मसँग एकजना साथी पनि थियो । उसलाई बाहिरै बस्दै गर भनेर पीडक (धनीराम कटवाल)ले मलाई भित्र बोलायो”, पीडित बालिका भन्छिन्, “एक पटक किस गर्न दियौ भने ब्रासलेट सित्तैमा दिन्छु भन्दै दुव्र्यवहार गर्न थाल्यो । ज्यान जोगाउन रुँदै बाहिर निस्केपछि प्रहरीलाई जानकारी गरायौँ । ममाथि यौन दुव्र्यवहार गर्ने दोषीमाथि कडाभन्दा कडा कानूनी कारबाही हुनुप¥यो ।”
साथीको जन्मदिनमा उपहार दिनका लागि ब्रासलेट किन्न स्टेसनरी पसल पसेलगत्तै पसलमा राखिएको सिसी क्यामेरा अन्यत्र मोडेर आफूमाथि यौन प्रस्ताव राख्दै दुव्र्यवहार गरेको पीडित बालिकाकाले बताएकी छन् । बाल यौन दुव्र्यवहार आरोपमा पक्राउ गरिएका कटवालले घटनाबारे स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिनुभएको छ ।
आफ्नो नाबालिका छोरीलाई यौन दुव्र्यवहार गर्ने दोषी धनीराम कटवाललाई कडाभन्दा कडा कारबाहीको मागसहित बिहीबार जिल्ला प्रहरी कार्यालय खोटाङमा किटानी जाहेरी दर्ता गरिएको पीडित बालिकाकी आमाले बताउनुभएको छ । “हाम्री छोरी साथीसँग सामान किन्न त्यहाँ गएको रहेछ । साथीसँग भएकाले ज्यान जोगाउन सफल भयो । एक्लै भएको भए ठूलो दुर्घटना हुन्थ्यो”, उहाँले भन्नुभयो, “घटनापछि पीडकका बुबा लगायतले मिल्न आग्रह गरिरहेका छन् । यस्ता विषयमा मिलापत्र गर्नुपर्छ भन्ने प्रस्ताव राख्न कुन मुखले दिएको हो ! मिलापत्रका लागि अनुरोध गर्न आउनेहरुलाई कानूनले जे भन्छ त्यही अनुसार गरौँ भनेर फर्काइ दियौँ । अब न्यायालयले दिने अन्तिम फैसला कुर्न भनेका छौँ ।”
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सञ्चालित स्टेसनरी पसलमा भएको यौन दुव्र्यवहारको घटनामा बालिका रुँदै घर बाहिर निस्केपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी आएलगत्तै गस्तीमा रहेका प्रहरी टोलीले आरोपित कटवाललाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय खोटाङ लगेको जनाइएको छ ।



