५ श्रावण २०८२, आइतबार | Mon Jul 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङका ९६ प्रतिशत घरमा विद्युत पुग्यो, पूर्ण विद्युतीकरण गर्न पाँच करोड आवश्यक



खोटाङ। दश स्थानीय तह रहेको खोटाङका ९६ प्रतिशत घरधुरी उपभोक्ताले विद्युत उपभोग गरेको पाइएको छ । नेपाल विद्युत प्राधिकरण खोटाङले गरेको सर्वेक्षण अनुसार ८६ प्रतिशत उपभोक्ताको घरमा केन्द्रीय प्रशारण लाइन तथा दश प्रतिशतमा माइक्रो हाइड्रो र सोलार ग्रिडबाट विद्युत बलेको पाइएको हो ।

केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार भएको २५ वर्ष पूरा हुँदा पनि जिल्लामा अझै दुई हजारभन्दा बढी घरधुरी उपभोक्तामा विद्युत पुगेको छैन । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा वि.सं.२०५७ सालमा तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोईरालाले दिक्तेल बजारमा आएर केन्द्रीय प्रशारण लाइनको विद्युत औपचारिकरुपमा उद्घाटन गर्नुभएको थियो ।

विद्युत प्राधिकरणले दिएको जानकारी अनुसार जिल्लामा माइक्रो हाइड्रोबाट तीन हजार ४३० र सोलार ग्रिडबाट २८३ घरधुरी उपभोक्ताले विद्युत उपभोग गरिरहेका छन् । विद्युतीकरण हुन बाँकी जिल्लाका दुई हजार बढी घरधुरी उपभोक्तामध्ये कतिपयले अझै पनि मट्टीतेलको धिप्री तथा सोलार टुकीको भर पर्नुपर्ने अवस्था रहेको जनाइएको छ ।

विद्युत बल्न बाँकी घरहरुमा केन्द्रीय प्रशारण लाइनको विद्युत पु¥याउन रु पाँच करोड बजेट आवश्यक पर्ने विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख सोवितबहादुर क्षेत्रीले जानकारी दिनुभएको छ । “हामीले गरेको सर्वेक्षण अनुसार जिल्लाका दुई हजार घरधुरी उपभोक्ताको घरमा विद्युतीकरण हुन बाँकी छ । यसका लागि हामीले केन्द्रमा बजेटसमेत माग गरेका छौँ”, उहाँले भन्नुभयो, “केन्द्रबाट बजेट स्वीकृत भएर आएको खण्डमा आगामी वर्ष नै जिल्लामा पूर्ण विद्युतीकरणको काम सम्पन्न हुन्छ । त्यसका लागि सम्बन्धित ठाउँहरुमा पहल गरिरहेका छौँ ।”

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित सवस्टेशनबाट खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बू जिल्लाका उपभोक्तालाई विद्युत वितरण गरिएको छ । तीन जिल्लाका उपभोक्ताका लागि वितरण गरिएको केन्द्रीय प्रशारण लाइनको विद्युतमा पटक–पटक समस्या देखिने गरेको छ भने, उक्त समस्या दीर्घकालीनरुपमा समाधान गर्न टावर अनिवार्य जडान गर्नुपर्ने विज्ञहरुले बताएका छन् ।

जिल्लामा उत्पादन गरिएका तीनवटा जलविद्युत आयोजनाबाट १०.६ मेगावाट विद्युत केन्द्रीय प्रशारणलाइनमा जोडिएका छन् । साप्सुखोला जलविद्युत आयोजना, माथिल्लो रावाखोला साना जलविद्युत आयोजना र मेवाखोला हाईड्रोपावरगरी १०.६ मेगावाट जलविद्युत ३३ केभी केन्द्रीय प्रशारणलाइनमा जोडिएको हो ।

हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सु खोलाबाट उत्पादन गरिएको साप्सुखोला जलविद्युत आयोजना ६.६ मेगावाट, केपिलासगढी गाउँपालिकाको वडा नं. ६ दिप्सुङ र वडा नं. ७ सुङ्देलको सिमानामा पर्ने रावाखोलाबाट तीन मेगावाट र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित मेवाखालाबाट एक मेगावाट क्षमताको जलविद्युत उत्पादन गरिएको छ । जिल्लाका फरक–फरक तीनवटा खोलाबाट उत्पादन गरिएका जलविद्युत बुइपास्थित ३३ केभी प्रशारण लाइनमा जोडिएका छन् ।

विद्युत प्राधिकरण खोटाङले दिएको जानकारी अनुसार जिल्लामा उत्पादित विद्युतमध्ये तीन भागमा एक भाग पनि खपत भएको छैन । जिल्लामा विस्तार गरिएका केन्द्रीय प्रशारण लाइनको विद्युत पटक–पटक अवरुद्ध हुँदा उपभोक्ताहरु हैरानीमा पर्नेे गरेका छन् ।

यतिसम्म कि, जिल्लामा अलि बढी पानी पर्दा, अलि ठूलो हावा चल्दा र बाढीपहिरो आउनासाथ विद्युत अवरुद्ध हुने गरेको छ । एकै दिनमा दर्जनौँ पटक विद्युत आउने र जाने समस्याले तीन जिल्लाका सेवाग्राही उपभोक्ताहरु मारमा पर्दै आएका छन् ।

केन्द्रीय प्रशारण लाइनको विद्युत झ्याप्प आउने र झ्याप्प जाने समस्याका कारण विद्युतीय उपकरणमा क्षति पुगेको र नियमित काम गर्न नसकिएको सेवाग्राहीहरुको गुनासो छ । लामो दूरी, जङ्गलको बाटो, होचो खम्बा र ठाउँठाउँमा पहिरो जानाले पटकपटक विद्युत अवरुद्ध हुने गरेको प्राधिकरणले बताउँदै आएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार ००:००  ११ : १४ बजे