५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नाम परिवर्तन गर्न प्रस्ताव सार्वजनिक



खोटाङ, २५ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिकाको नाम परिवर्तन गर्नका लागि प्रस्ताव सार्वजनिक गरेको छ । राजनीतिक दल, सङ्घ÷संस्था, नागरिक समाज र नगरवासीसँग छलफल गरेर उनीहरुको सुझावको आधारमा नगरपालिकाको नाम परिवर्तन गर्ने तयारी गरिएको भन्दै नगरपालिकाले आज (सोमबार) प्रस्ताव सार्वजनिक गरेको हो ।

नगरकार्यपालिकाको बैठकले गरेको निर्णय सार्वजनिक गर्न नगरपालिकाले आज (सोमबार) आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नगरपालिकाको नाम परिवर्तन सम्बन्धी प्रस्तावसमेत सार्वजनिक गरिएको छ । आगामी वैशाख–१ र २ गते गर्न लागिएको रेडपाण्डा तथा थार महोत्सव, जेठ–१५ गते पर्ने गणतन्त्र दिवस, शैक्षिक सुधार कार्यदलको प्रतिवेदन, नगरपालिकाको सेवा प्रवाहमा गुणस्तर सुधार लगायतका विषयमा निर्णय गर्न आज (सोमबार) बसेको नगरकार्यपालिका बैठकमा नगरप्रमुख तीर्थराज भट्टराईले नगरपालिकाको नाम परिवर्तन सम्बन्धी प्रस्तावसमेत प्रस्तुत गर्नुभएको हो ।

बैठकमा सहभागी अधिकांश नगरकार्यपालिका सदस्यले नगरपालिकाको नाम छोटो र सर्वमान्य बनाउनपर्नेमा एकमत देखाए पनि वडा नं. १ दिक्तेलका वडाध्यक्ष नवराज राईले कुनै पनि हालतमा अहिलेको नाम परिवर्तन गर्न नहुने बताउनुभएको छ । “नगरप्रमुख तीर्थराज भट्टराई ज्यूले नगरपालिकाको नाम परिवर्तन गर्ने सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको छ । यो सम्भावना छैन”, उहाँले भन्नुभयो, “नगरपालिकाको नाम लामो भएको भन्ने विषयमा त म पनि चिन्तित छु । तर, यो छोट्याउने सम्भावना छैन । नगरप्रमुख ज्यूले अनावश्यक प्रस्ताव पेश गर्नुभएको छ । यो पारित हुँदैन ।”

जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह (पन्ध्र वडा रहेको) यो नगरपालिकाको नाम यसअघि दुई पटक परिवर्तन गरिएको थियो । शुरुमा दिक्तेल नगरपालिकाको नामले स्थापना भएको यो नगपालिका देशमा सङ्घीयता लागू भएसँगै स्थानीय तहको नामाकरण गर्नेक्रममा रुपाकोट मझुवागढी नगरपालिका बनाइएको थियो ।

अहिलेको नाम (दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका) लामो भएको जनगुनासो आएकाले सर्वदलीय तथा सर्वपक्षीय छलफल एवम् बैठकमार्फत सहमतिमा छोटो बनाउने उद्देश्यसहित नगरकार्यपालिकाको बैठकमार्फत नाम परिवर्तनको प्रस्ताव सार्वजनिक गरिएको नगरप्रमुख भट्टराईले जानकारी दिनुभएको छ । “देश तथा विदेशबाट हाम्रो नगरपालिकाको नाम लामो भयो भन्ने गुनासो आएको छ । यो विषयमा कार्यपालिका बैठकमा समेत छलफल भयो”, उहाँले भन्नुभयो, “नगरकार्यपालिका बैठकमा राजनीतिक दल, सङ्घ÷संस्था, नागरिक समाज र नगरवासीसँग छलफल गरेर उनीहरुको सुझावको आधारमा नगरपालिकाको नाम परिवर्तन गर्नेगरी समझदारी भएको छ । यसलाई चाँडै सर्वपक्षीय बैठक राखेर टुङ्ग्याउँछौँ ।”

वि.सं. २०७४ सालमा पहिलो पटक भएको स्थानीय तहको निर्वाचनपछि तत्कालीन नगरप्रमुख दीपनारायण रिजाल नेतृत्वको जनप्रतिनिधिले रुपाकोट मझुवागढी नगरपालिकाको अगाडि दिक्तेल थपेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका बनाएको थियो । आफू अनुकूल तथा दबाब र प्रभावमा पटक–पटक नगरपालिकाको नाम परिवर्तन गर्दा धेरै नगरवासीले दुःख पाएका छन् ।

नगरपालिकाको नाम परिवर्तनले पटक–पटक कागजी झन्जटमा पर्दै आएका नगरवासी नगरकार्यपालिकाको प्रस्ताव सार्वजनिक भएसँगै जनप्रतिनिधिहरुप्रति आक्रोशित बनेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनीहरुले नगरपालिकाको स्वरुप परिवर्तन गर्न नाम नभइ जनप्रतिनिधिको सोच परिवर्तन हुनुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०८१, सोमबार ००:००  ५ : ४६ बजे