खोटाङ, २४ फागुन । कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पीके’ ले दिक्तेलबजारमा भइ रहेको सडक ढलानको अनुगमन गर्नुभएको छ । दिक्तेल बजारको बाकी सडक ढलान अर्थात त्रिवेणी चोक देखी टेलिकम गेटसम्म सडक ढलानको शनिबार विहान मन्त्री राईले अनुगमन गर्नुभएको हो ।
सडक ढलान अनुगमनका क्रममा मन्त्री राईले निर्माण कम्पनिका प्रो. धुव्रकुमार श्रेष्ठलाई तोकिएकै समयमा सडक ढलानको काम सम्पन्न गर्न निर्देशन दिनुभयो । निर्माण कम्पनीले निर्माण कार्य तिव्र गतिमा अगाडी बढाएको र संरचना निर्माण पनि गुणस्तरीय नै रहेको मन्त्री राईले जानकारीदिनुभयो । दिक्तेल बजारमा हाल भइ रहेको सडक ढलान हालको बजेटले नपुग्ने भएकाले सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईसँँग सल्लाह गरेर दिक्तेलबजारलाई हिलाम्मे धुलाम्मे मुक्त गर्न थप वजेट व्यवस्थापन गर्न पहल गर्ने मन्त्री राईले जानकारीदिनुभयो ।
कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत शहरी विकास तथा भवन कार्यालय ओखलढुङ्गामार्फत सडक ढलानको काम भइरहेको हो । १ करोड १९ लाख ६३ हजार ४८३ रुपैयाँमा फास्ट एण्ड फास्ट कन्टक्सन एण्ड सप्लायर्स प्रा.लि.ले सडक ढलान निर्माण कम्पनीले सडक ढलानको जिम्मा लिएको हो । निर्माण कम्पनिले वि.सं. २०८१ साल फागुन ४ गते ठेक्का सम्झौता गरेको सडक ढलानको काम आगामी जेठ ३ गते भित्रमा सक्नु पर्ने उल्लेख छ ।
प्रदेश सरकारको निर्वाचन क्षेत्र आयोजना अन्तरगत पाउने निर्वाचन क्षेत्र विकास कोषको आर्थीक वर्ष २०८१–०८२ बाट १ करोड सडक ढलानका लागि विनियोजन गरेको हुँ।’ मन्त्री राईले भन्नुभयो, “दिक्तेलबजारवासीहरुको चाहनाअनुसार एकमुष्ट रकम विनियोजन गरिदिन आग्रह गरेकाले रकम सडक ढलानका लागि लगाइएको हो।”