खोटाङ, १५ फागुन । खोटाङको दिक्तेलमा सुरु भएको प्रथम राष्ट्रिय बाँस सम्मेलनको संघिय वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले उद्घाटन गर्नुभएको छ । “जहाँ बाँस त्याहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस” भन्ने नारासहित तीन दिन सम्म सञ्चालन हुने राष्ट्रिय बाँस सम्मेलनको बिहिबार यलम्बर बाजा बजाउँदै सम्मेलनको संघिय वन तथा वातावरण मन्त्री ठकुरीले औपचारिकरुपमा उद्घाटन गर्नुभएको हो ।
बाँस सम्मेलन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै संघिय वन तथा वातावरण मन्त्री ठकुरीले स्थानीय स्तरमा उत्पादन भएका बाँसले खोटाङलाई समृद्धि बनाउने बताउनुभएको छ । बाँसको माध्यमबाट जिल्लालाई रोजगारी सिर्जना गराउन समेत संघिय सरकारले सबै किसिमको सहयोग गर्ने मन्त्री ठकुरीले बताउनुभएको हो । “बाँस सम्मेलनले देशको आर्थीक समृद्धीमा समेत टेवा पु¥याउन मद्दत गर्ने छ । वन तथा वातावरण मन्त्रालयले आवश्यक बाँसको आवश्यक अनुसन्धान तथा विकासका लागि आगमी आर्थिक वर्षमा महत्वका साथ बजेट विनियोजन गर्ने छ ।”
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मुख्य आयोजना तथा वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बबरमहल काठमाण्डौं, पर्यटन–वन तथा वातावरण मन्त्रालय कोशी प्रदेश र ग्रीन बेम्बो क्रियसन ललितपुरको आयोजनामा सम्मेलन सुरु भएको हो । स्थानीय स्तरमा उपलब्ध बाँसको बहुआयामिक महत्व तथा उपयोगिता दर्शाउनेलगायतका उदेश्य राखी राष्ट्रिय बाँस सम्मेलनको आयोजना गरिएको हो। बाँसको संरक्षण, व्यवस्थापन, दीगो उपयोग र उद्यमशीलता, प्रकृतिको संरक्षण, स्थानीय रोजगारी तथा राष्ट्रिय अर्थतन्त्रमा बृद्धि गरी समृद्ध स्थानीय तह, प्रदेश र राष्ट्र बनाउने सम्मेलनको मुख्य धेय रहेको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।