खोटाङ, १४ फागुन । खोटाङमा एक महिला र एक पुरुष जंगलमा मृत भेटिएका छन् । बराहपोखरी गाउँपालिका–१ बराहपोखरीस्थित डाँडाखर्कमा महिला र पुरुष मृत भेटिएका हुन् । स्थानीय दारेगौडा जंगलमा दुवै जना मृत अवस्थामा भेटिएको बराहपोखरीका वडाध्यक्ष ढकबहादुर कार्की बताउनुभयो ।
डाँडागाउँका अन्दाजी २२÷२३ वर्षीय सरिता बिष्ट बस्नेतको जंगलमा हत्या भएको अवस्थामा मृत भेटिएको वडाध्यक्ष कार्कीको भनाइ छ ।मृत महिलाको घाँटीमा धारिलो हतियार प्रहार भएको जस्तो देखिएको छ । सोही गाउँका अन्दाजी १९–२० वर्षका शिखर बस्नेत पनि सोही जंगलमा मृत भेटिएका छन् । महिलाको शव रहेको करिब २५ मिटर तल रुखमा झुण्डिएको अवस्थामा पुरुष मृत फेला परेका हुन् ।
मृत भेटिएकी महिला बिबाहित हुन् । उनको २ वर्षको छोरीसमेत रहेको बताइएको छ । पुरुष भने अबिबाहित हुन् । घटना कसरी घटेको भनेर खुल्न बाकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । स्थानीय प्रहरी चौकीले घटना स्थललाई सुरक्षित गरेर राखेको छ । हाल जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी प्रतिक बिष्टको नेतृत्वमा जिल्लाबाट प्रहरी टोली घटना स्थलतर्फ जादै छ । घटना स्थलमा पुगेर थप अनुसन्धान भएपछि थप कुरा थाहा हुने डिएसपी बिष्टले बताउनुभयो ।
मृत भेटिएका महिला र पुरुष दुवै जना जंगलमा घाँस काट्न गएका थिए । धारिलो हतियार घाँटीमा प्रहार भएर मृत अवस्थामा भेटिएकी महिलाको कम्मरमा नाम्लोडोरीसमेत रहेको स्थानीयले बताएका छन् । शव नजिकै घाँस काट्न सुरु गरे जस्तो पनि देखिएको छ । पुरुषले महिलाको हत्या गरेर आफुले आत्महत्या गरेजस्तो देखिए पनि घटनाको बिस्तृत खुल्न बाकी रहेको बताइएको छ ।