१ असार २०८२, आइतबार | Sun Jun 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हलेसीका आगलागी पीडितका लागि एकैदिन ११ लाख पाँच हजार राहत सङ्कलन



खोटाङ, ५ फागुन । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी बजारका आगलागी पीडितका लागि एकैदिनमा रु ११ लाख पाँच हजार राहत रकम सङ्कलन भएको छ । हलेसी तुवाचुङ नगरपालिकाका जनप्रतिनिधि, नगरपालिकामा कार्यरत स्थायी निजामती कर्मचारी, करारका कर्मचारी र शिक्षकबाट रु दश लाख तथा उद्योग वाणिज्य सङ्घ हलेसी शाखाले रु ५० हजार, खोटाङ प्राकृतिक विपद् व्यवस्थापन कोषले रु ४० हजार र सुदेवी कन्ट्रक्सन प्रा.लि. हलेसीले रु १५ हजार सहयोग उपलब्ध गराएको हो ।

हलेसी बजारका आगलागी पीडितका लागि जनप्रतिनिधि र स्थायी निजामती कर्मचारीको दुई÷दुई दिन तथा शिक्षक र करारका कर्मचारीको एक÷एक दिनको सेवासुविधा उपलब्ध गराइएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो । हलेसी बजारका आगलागी पीडितका लागि माछापुछ«े बैङ्क हलेसी शाखामा खाता खोलेर क्यूआरमार्फत समेत रकम जम्मा गर्न मिल्नेगरी राहत सङ्कलन अभियान शुरु गरिएको जनाइएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी बजारमा फागुन–४ गते आइतबार राति भएको आगलागीबाट पीडित बनेकाहरुका लागि दुई महिना आर्थिक सहयोग सङ्कलन अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ । नगरप्रमुख विमला राईको संयोजकत्वमा राजनीतिक दल, रेडक्रस, होटल व्यवसायी, इलाका प्रहरी कार्यालय हलेसी, समाजसेवी, विभिन्न सङ्घसंस्था र स्थानीयवासीको उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

हलेसी बजारका स्थानीयवासी पदमशेर राईको भान्छा कोठाबाट शुरु भएको आगोले चारवटा घर, तीनवटा होटल, एउटा हार्डवेयर पसल, लघुवित्तको कार्यालय लगायत जलेर नष्ट भएको थियो । खाना पकाउनेक्रममा ग्यास लिक भएर शुरु भएको आगलागीमा पदमशेरको काठ र जस्तापाताले बनेको तीनतले घर, पहिलो तलामा राखिएको हार्डवेयर पसल, दोस्रो तलामा सञ्चलित निर्धन उत्थान लघुवित्त संस्थाको कार्यालय लगायतका सामग्री जलेर नष्ट हुँदा करिब रु चार करोड बराबरको क्षति भएको छ ।

साँझ करिब ७ः०० बजेबाट शुरु भएको आगलागीबाट स्थानीय आइराख राईको न्यू–कल्याण होटल, चार तले पक्की घर र घरको पछाडिपट्टी दुईतले काठको घर गरी रु दुई करोड ५० लाख बराबरको क्षति भएको छ । आगलागीमा परेर स्थानीय प्रकाशचन्द्र गिरीको हलेसी दर्शन होटलको फलामको ट्रसले बनेको एकतले भान्छा घर र दुईतले पक्की घरमा आंशिक क्षति हुँदा रु ३० लाख बराबरको क्षति भएको जनाइएको छ ।

आइराख राई्रको घरसँगै जोडिएको भरणशेर राईको पारुहाङ होटल, चारतले पक्की भवनको दोस्रो र तेस्रो तलामा आंशिक क्षति हुँदा अन्दाजी रु ५० लाख बराबरको भएको छ । हलेसी बजारमा भएको आगलागीमा रु सात करोड ३० लाख बढीको क्षति भएको प्रहरीको प्रारम्भिक प्रतिवेदनले देखाएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् निमित्र प्रमुख जिल्ला अधिकारी हीराधन राईले जानकारी दिनुभएको छ ।

रातको समयमा भएको आगलागी नियन्त्रणमा लिनका लागि जिल्लाबाट रणभीम गण मुढे ब्यारेक, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल ७ नम्बर गुल्म, जिल्ला प्रशासन, जिल्लावासी लगायत गरी करिब ५०० जना खटिएका थिए । साँझ करिब ७ः०० बजेतिर शुरु भएको आगो साढे चार घण्टापछि साढे ११ बजेमात्र नियन्त्रणमा आएको थियो ।

सुख्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी बजारमा भएको आगलागी नियन्त्रणमा लिनका लागि पानी अभाव भएकाले समस्या भएको ईलाका प्रहरी कार्यालय हलेसीका प्रमुख प्रहरी निरीक्षक हेमन्त राईले जानकारी दिनुभएको छ । मध्यपहाली लोकमार्ग अन्तरगत दिक्तेल–हलेसी सडकखण्डमा पर्ने हलेसी बजारमा भएको आगलागीका घटनालाई दमकल अभावका कारण समयमै नियन्त्रण गर्न नसक्दा ठूलो क्षति भएको हो ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार ००:००  ८ : ०० बजे