खोटाङ, १७ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा कुकुरले शरीरजति खाएको अवस्थामा नवजात शिशुको एउटा हात फेला परेको छ । जालपास्थित खरबारीका जसबहादुर राईको घर नजिकै पर्ने बाँसघारीमा नवजात शिशुको शव गाडेको छ भन्ने स्थानीयले दिएको जानकारीको आधारमा आज (बिहीबार) जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएर गएको प्रहरी टोली पुग्दा कुकुरले शरीरजति खाइसकेको अवस्थामा शिशुको एउटा हात फेला परेको हो ।
घटनास्थलको कानूनी प्रक्रिया पूरा गरी कुकुरले खाएर बाँकी रहेको नवजात शिशुको हात परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ ल्याइएको जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सञ्जु कार्कीले जानकारी दिनुभएको छ । जालपामा नवजात शिशुको शव गाडिएको अवस्थामा फेला परेको विषयमा प्रहरी टोली परिचालन गरेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
बाँसघारीमा खाल्डो खनेर गाडिएको अवस्थामा भेटिएको नवजात शिशुको शव हत्यापछि घटना लुकाउन गाडिएको हुनसक्ने आशंका गरिएको घटनास्थल पुगेर फर्कनुभएका प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभएको छ । घटनाको प्रकृति हेर्दा नवजात शिशुको शव केही दिनअघि गाडिएको भएपनि त्यसबारेमा आज (बिहीबार)मात्र जिल्ला प्रहरी कार्यालयमा जानकारी आएको जनाइएको छ ।
खरबारीस्थित जसबहादुरको घरभन्दा करिब ८०० मिटर टाढा पर्ने बाँसघारीमा गाडिएको ठाउँबाट बरामद गरिएको नवजात शिशुको हातसमेत सडिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ । नवजात शिशुको शव गाडिएको अवस्थामा फेला परेपछि जालपावासीमा कौतुहलता बढेको वडाध्यक्ष दानबहादुर राईले जानकारी दिनुभएको छ ।