२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भँडारेखोला सुमो दुर्घना : जलनका बिरामीसहित एउटै परिवारका तीनजनाको मृत्यु



खोटाङ, १७ माघ । दिक्तेलबाट बिरामी लिएर काठमाडौँ जाँदै गरेको सुमो ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ टेकसेलेस्थित भँडारेखोलामा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । केपिलासगढी गाउँपालिका–३ बास्पानीकी ५६ वर्षीया मायाँ गुरुङ, उहाँका छोरा २८ वर्षीय पुजन गुरुङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा निवासी मायाँकी बहिनी ४५ वर्षीया तारा गुरुङ गुरुङको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङले दिएको जानकारीअनुसार पूर्व खोटाङ यातायात प्रा.लि.को ना १ ज ६४२१ नम्बरको सुमो दिक्तेलबाट करिब बुधबार साँझ ७ः३० बिरामी लिएर काठमाडौँ हिँडेको थियो । आगलागीमा परेर गम्भीर घाइते पर्नुभएकी मायाँलाई लिएर काठमाडौँ हिँडेको सुमो गएराति नै दुर्घटना भएको हुनसक्ने स्थानीयबासीले जनाएका छन् ।

मध्यपहाडी लोकमार्ग लोकमार्ग सडकखण्डको भँडारेखोलामा बिहान करिब ६ः३० बजेको समयमा सुमो दुर्घना भएको अवस्थमा स्थानीयले भेटेपछि ट्राफिक प्रहरी कार्यालय हर्कपुरलाई जनकारी दिएका थिए । दुर्घटना भएलगत्तै सुमो चालक सुनसरी जिल्लाको इनरुवा नगरपालिका निवासी २२ वर्षीय अनिल पण्डित फरार रहेको प्रहरीले जानकरी दिएको छ । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बास्पानीस्थित आफन्तको मृत्यु कार्य (सुद्याइ)मा आउने निम्तालुलाई दिनका लागि रक्सी ठानेर तताउनेक्रममा पेट्रोल परेपछि सल्किएको आगोले जलेर गम्भीर घाइते पर्नुभएकी मायाँलाई उपचारको लागि छोरा पुजन र बहिनी ताराले काठमाडौँ लिएर हिँडेका थिए । आगलागीमा कम्मरमुनिको भाग जलेर गम्भीर घाइते बन्नुभएकी मायाँलाई आफन्तले बास्पानीबाट उद्धारगरी गाडीमा जिल्ला अस्पताल खोटाङमा ल्याएर साँझ पाँच बजे भर्ना गरेका थिए ।

जलन सम्बन्धीका किरामीका लागि जिल्लामा अस्पताल खोटाङमा उपचारको व्यवस्था नभएकाले प्राथमिक उपचार गरेर थप उपचारका लागि काठमाडौँ रिफर गरिएको अस्पतालका प्रमुख डा. रुपेश सङ्ग्रौलाले जानकारी दिनुभयो । “उहाँ (मायाँ गुरुङ)को कम्मरमुनिको भाग जलेर निक्कै ठूलो घाउ बनेको थियो । यहाँ जलन सम्बन्धी उपचार गर्ने व्यवस्था छैन”, उहाँले भन्नुभयो, “प्राथमिक उपचार गरेर उप उपचारका लागि काठमाडौँ रिफ गरेका थियौँ । बाटोमा दुःखद् घटना भएछ !”

दुर्घटनास्थललाई अहिले जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले सुरक्षित गरेर राखेको जनाइएको छ । दिक्तेल–काठमाडौँ सडकखण्डमा पर्ने भँडारेखोला दिक्तेलबाट यातायातको सवारी साधनमा करिब चार घण्टा यात्रा गर्दा पुग्न सकिन्छ ।

सुमोमा चालकसहित चारजना मात्रै सवार रहेको बुझिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिनुभएको छ । “भँडारेखोलामा भएको दुर्घटनाका बारेमा आज (बिहीबार) बिहानमात्र जानकारी प्राप्त भयो । घटनाको बारेमा थप अनुसन्धान गर्न जिल्लाबाट प्रहरी टोली परिचालन गरिएको छ”, उहाँले भन्नुभयो, “चालक फरार रहेका छन् । सुमोमा सवार तीनैजनाको मृत्यु भएपछि दुर्घना हुनुको कारण खुल्न सकेको छैन ।”

उपचारमा पठाइएको बिरामीसहित तीनजना आफन्तको एउटै सुमो दुर्घटनामा मृत्यु भएको खबर प्राप्त भएपछि गुरुङ परिवार स्तब्ध भएका छन् । सुमो दुर्घटनामा आफन्तको मृत्यु भएको खबर प्राप्त भएपछि आफन्तहरु घटनास्थलतर्फ लागेका छन् ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहिबार ००:००  २ : २८ बजे