२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि दिक्तेल ईङ्ग्लिस बोर्डिङ स्कूललाई



खोटाङ, १४ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालयस्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि दिक्तेल ईङ्ग्लिस बोर्डिङ स्कूल दिक्तेलले जितेको छ । नगरपालिकाभित्र सञ्चालित २४ वटा माध्यमिक विद्यालय सहभागी प्रतियोगितामा १८ स्वर्ण, १८ रजत र १९ कास्य पदकसहित दिक्तेल बोर्डिङ स्कूल दिक्तेलले उपाधि जितेको हो ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटीकोरे खेलमैदानमा सञ्चालन भएको प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय दिक्तेल द्वितीय भएको छ । उसले दश स्वर्ण, दश रजत र ११ कास्य पदकसहित द्धितीय स्थान प्राप्त गरेको हो ।

चार दिनसम्म सञ्चालन गरिएको प्रतियोगितामा नौँ स्वर्ण, छ रजत र पाँच कास्य पदक सहित जनजागृति आवासीय विद्यालय सोल्मा तृतीय तथा पाँच स्वर्ण, चार रजत र दुई कास्य पदकसहित श्री माध्यमिक विद्यालय बाँसबोटे लफ्याङ चौथो भएको छ । भलिबल, एथलेटिक्स, कबड्डी, सितोरियो कराँते र तेक्वान्दोगरि पाँच विद्या तथा ४९ इभेन्टमा प्रतिस्पर्धा गराइएको प्रतियोगितामा माउन्ट एभरेष्ट बोर्डिङ स्कूल दिक्तेलले तीन स्वर्ण, एक रजत र सात कास्य पदकसहित पाँचौँ स्थान हाँसिल गरेको छ ।

नगरपालिकाको आयोजना तथा जनजागृति आवासीय माध्यमिक विद्यालय सोल्माको सहआयोजनामा सञ्चालित प्रतियोगितामा ५४ स्वर्ण, ५४ रजत र ७८ कास्य पदकका लागि प्रतिस्पर्धा गरिएको थियो । प्रतियोगितामा ६३२ जना विद्यार्थीले सहभागिता जनाएको सहआयोजक जनजागृति आवासीय माध्यमिक विद्यालय सोल्माका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सूर्यबहादुर राईले जानकारी दिनुभयो ।

प्रतियोगिताको उपाधि जित्न सफल विद्यालयलाई नगद २१ हजार १११ को साथमा रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ । प्रतियोगिताका उपविजेता तथा विद्यागत प्रतियोगिताका विजयी विद्यालयले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका उपाधि विजेता विद्यालय तथा खेलाडीलाई समापन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले पुरस्कार प्रदान गर्नुभएको छ । प्रतियोगिताको औपचारिक उद्घाटन यही माघ–११ गते कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पिके’ले ब्यानरसहितको बेलुन उडाएर गर्नुभएको थियो ।

 

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार ००:००  ९ : ५२ बजे