खोटाङ,११ माघ । कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पिके’ले खेल क्षेत्रको समग्र विकासमा प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । शुक्रबार दिक्तेलबजारस्थित माटिकोरे खेलमैदानमा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई सम्बोधन गर्दै मन्त्री राईले सो कुरा बताउनुभएको हो ।
खेलकुदले खेलाडीहरुको व्यक्तित्व विकासमात्र नभइ देशलाई समेत विश्वसामू परिचत गराउने बताउनुभएको छ । खेल क्षेत्रको विकासमा प्रदेश तथा सङ्घीय सरकारले लगानी गरिरहेको जानकारीदिनुभयो । खेल क्षेत्रको समग्र विकासका लागि विद्यालयहरुले पठनपाठनसँगै खेलसँग सम्बन्धित गतिविधि नियमित सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । सानै उमेरदेखि खेल क्षेत्रमा लागेका व्यक्तिले मात्र सफलता हाँसिल गर्न सक्ने मन्त्री राईको भनाई छ ।
राजनीतिक पार्टीहरुले विकास भन्ने कुरा पुर्वाधारसँग मात्र जोडेका छन् । मन्त्री राईले भन्नुभयो,“राजनीतिक खेल जगतसँग जोड्ने शिक्षा र खेललाई विकासको पुर्वाधार नठान्न आग्रह गर्नुभएको छ ।´´ जिल्लाको खेललाई प्रवर्द्धन गर्न विद्यालयस्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतिगिताले कोशे ढुंगा सावित गरेको मन्त्री राईको भनाई छ ।
यहि माघ १४ गतेसम्म सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्डमा नगरभित्रका २१ सामुदायीक र ३ वटा संस्थागत माविको सहभागीता रहेको छ । राष्ट्रपति रनिङ शिल्डमा भलिबल, कबड्डी, एथ्लेटिक्स, मार्सल आर्टतर्फ कराते र तेक्वान्दो प्रतियोगीता हुनेछन् । प्रतियोगीताको विजेता विद्यालयले शिल्ड, मेडल र प्रमाण–पत्र हात पार्नेछ ।
जनजागृति माविले ‘जिल्ला तथा प्रदेश स्तरको’ झल्को दिनेगरि राष्ट्रपति रनिङ शिल्डको व्यवस्थापन गरेको हो । राष्ट्रपति रनिङ शिल्डलाई ‘अरु पालिकाभन्दा विशेष’ बनाउन प्रयात्न गरिएको जनजागृति माविका व्यवस्थापन समिति अध्यक्ष सुर्य राईले जानकारी दिनुभयो । यसपल्ट राष्ट्रपति रनिङ शिल्डमा नगरपालिकाका सबै माविले सहभागीता जनाएका छन् ।
प्रतियोगीताका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्रीहरु ल्याइएको आयोजक समितिका सदस्य सञ्जयकुमार राईले जानकारी दिनुभएको छ। उद्घाटन समारोह लगत्तै एथ्लेटिक्स, सितोरियो कराते र तेक्वान्दो प्रतियोगीता सुरु गरिएको थियो । माटिकोरे खेलमैदानमा एथ्लेटिक्स, कबर्ड हलमा सितोरियो कराते र शुभम फाउण्डेसनमा तेक्वान्दो प्रतियोगीता सुरु गरिएको हो।
राष्ट्रपति रनिङ शिल्डका लागि नगरपालिकाले १० लाख विनियोजन गरेको छ । यस्तै, वडा कार्यालय सोल्माले ५० हजार उपलव्ध गराउने नगरका शिक्षा, युवा तथा खेलकुद शाखाका कर्मचारी सुवासचन्द्र राईले बताए । सहभागी विद्यालयलाई खेलाडी संख्या र दुरीको आधारमा गाडी भाडा उपलव्ध गराउने तयारी गरिएको छ ।