खोटाङ, २ पुष । खोटाङमा भूकम्प सम्बन्धी विविध सचेतनामूलक कार्यक्रम आयोजन गरी राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ । ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ बुधबार दिक्तेलबजारस्थित हेलिप्याडमा जिल्ला विपद् व्यवस्थापन समिति खोटाङको आयोजनामा सचेतनामूलक कार्यक्रम गरी २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, प्रमुख प्रहरी नायवउपरीक्षक प्रतिक विष्ट लगायको उपस्थितिमा नेपाली सेनाद्धारा भूकम्पमा घाइते भएकाहरुलाई उपचारमा प्राथमिकता दिने विधि तथा भूकम्पको डेमो प्रदर्शन गरेको थिए ।
राष्ट्रिय भूकम्प सुरक्षा दिवस कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख भट्टराईले ‘विगतका भूकम्पबाट सिकेको पाठ भूकम्पीय जोखिम न्यूनीकरण गर्न आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने बताउनुभएको छ ।’ भूकम्पबाट बच्नसबै नागरिकले संचरना बनाउँदा प्राविधिक इन्जिनीयहरुको सल्लाहमा संरचना बनाउन आग्रह गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी कार्कीले राष्ट्रिय भूकम्प सुरक्षा दिवस कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल भूकम्पीय जोखिमको दृष्टिकोणले ११ औं राट्रकोरुपमा पर्ने भएकाले पनि भूकम्पबाट सहज हुनु पर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “भूकम्पले भन्दा पनि हामिले बनाएका संरचनाहरु जुन भूकम्प प्रतिरोधी छैनन् ती संरचनाहरुका कारण धनजनको क्षति हुने गरेको देखिन्छ ।”
विसं १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ । सो दिन दिउँसो २ः२४ बजे गएको ८ दशमलव ४ म्याग्निच्युडको भूकम्पले जनधनको क्षति भएको थियो । सो भूकम्पमा परी ८ हजार ८ सय १० जनाको ज्यान गएको थियो । भूकम्पले ८० हजार घर ध्वस्त भएका थिए ।
व्यक्तिका घर, विद्यालय, देवालय र पाटी पौवा तथा सार्वजनिक भवनसमेत गरी २ लाख ७ हजार २ सय ४८ संरचना भत्किएर क्षति भएका अभिलेख छ । यसै गरी विसं २०७२ वैशाख १२ गते गएको भूकम्पमा परी ८ हजार ६ सय ७० जनाको ज्यान गएको थियो भने भूकम्पले ७ लाख भन्दाबढी आवासमा क्षति पुगेको थियो ।