१४ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ऐसेलुखर्क गाउँपालिका: अपाङ्गता भएका व्यक्तिलाई घरैमा लगेर नागरिकता प्रदान



खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले ऐसेलुखर्क गाउँपालिकाका शारीरिक अपाङ्गता भएका व्यक्तिलाई घरमै लगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ । गाउँपालिकाको पहल तथा व्यवस्थापनमा जिल्ला प्रशासन कार्यालयले पूर्णरुपमा शारीरिक अपाङ्गता भएका सातजना व्यक्तिलाई उनीहरुको घरैमा लगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो ।

जिल्ला प्रशासन कार्यालयको टोलीले तीन दिन लगाएर शारीरिकरुपमा पूर्ण अपाङ्गता भएका व्यक्तिलाई घरैमा लगेर नागरिकता उपलब्ध गराएको गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राईले जानकारी दिनुभयो । “शारीरिक अपाङ्गता भएका कारण प्रशासनसम्म पुग्न नसक्दा हाम्रो गाउँपालिकामा अपाङ्गता भएका सातजना व्यक्ति नागरिकता पाउनबाट वञ्चित हुनुहुन्थ्यो । नागरिकता अभावका कारण उहाँहरुले राज्यबाट प्राप्त हुने सेवासुविधासमेत प्राप्त गर्नुभएको थिएन”, उहाँले भन्नुभयो, “शारीरिकरुपमा पूर्ण अपाङ्गता भएका व्यक्तिलाई राज्यले दिने सेवासुविधा उपलब्ध गराउन गाउँपालिकाको पहलमा घरैमा पुगेर नागरिकता उपलब्ध गराएका छौँ । अब उनीहरुलाई अपाङ्गता परिचयपत्र समेत उपलब्ध गराएर राज्यले दिने सबै सेवासुविधा उपलब्ध गराउँछौँ ।”

गाउँपालिकाका जनप्रतिनिधिको सिफारिसको आधारमा पहिलो दिन (पुस–१४ गते शनिबार) वडा नं.–२ राखाबाङ्देलका २१ वर्षीय सलिना राई र ४१ वर्षीय दीपक राईलाई नागरिकता प्रदान गरिएको छ । अभियानको दोस्रो दिन (पुस–१५ गते आइतबार) सबैभन्दा बढी वडा नं.–४ जलेश्वरीका चारजना व्यक्तिलाई नागरिकता प्रदान गरिएको प्रशासनका कायममुकायम शाखा अधिकृत लीलाबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

जलेश्वरीका २१ वर्षीय कमलप्रसाद अधिकारी, १९ वर्षीय सुजन पुरी, ५० वर्षीया जुनमाँया राई र २५ वर्षीय भक्त तामाङलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको जनाइएको छ । यस्तै, वडा नं.–१ राखाबाङ्देलका २० वर्षीय भानुभक्त राई र ५० वर्षीया कालीमाँय राईलाई घरैमा पुगेर नागरिकता प्रदान गरिएको जनाइएको छ ।

ऐसेलुखर्क गाउँपालिकाका विभिन्न ठाउँमा बसोबास गरिरहेका शारीरिकरुपमा पूर्ण अपाङ्गता भएका व्यक्तिलाई उनीहरुको घरैमा लगेर नागरिकता प्रदान गर्न प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि लगायतका टोली उनीहरुको घरमै पुगेका थिए । नेपाली नागरिकताको प्रमाणपत्र पाएका उनीहरुलाई अपाङ्गता परिचयपत्र समेत घरैमा लगेर वितरण गर्ने तयारी गरिएको गाउँपालिका प्रमुख राईले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार ००:००  ९ : २९ बजे