बिराटनगर। कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई (पीके) ले बालविवाह मुक्त नेपाल अभियान सञ्चालनका लागि स्थानीय सरकारलाई जिम्मेवार र सबल बनाएर अभियान सफल बनाउनुपर्ने बताउनुभएको छ । ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ नाराका साथ बालविवाह मुक्त नेपाल अभियान सञ्चालनका लागि राष्ट्रिय बालअधिकार परिषदद्वारा मंगलबार ललितपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा सामाजिक विकासमन्त्री राईले बालविवाह अन्त्यका लागि स्थानीय सरकार र संघीय सरकारसँग समन्वय गर्दै अगाडि बढ्ने प्रतिवद्वता गर्दै सो कुरा बताउनुभएको हो ।
बालविवाह रोक्न त सबैभन्दा पहिले गाउँ–गाउँमा सचेतनामुलक सन्देश प्रवाह गर्न आवश्यक रहेको मन्त्री राईले बताउनुभयो । अशिक्षा, बेरोजगारीले गर्दासमेत बालविवाह रोक्न नसकिएको हो ।
उहाँले भन्नुभयो, “परिवारले आफ्ना बालबालिकाको विवाहको प्रबन्ध गर्नु भन्दा पहिले उनीहरूलाई विद्यालय पठाउनुपर्छ, तब बालिकाहरूले पढाइ पूरा गर्न पाउँछन्. उनीहरूले दक्षता विकास गर्न सक्छन् ।”
मन्त्री राईले बालविवाह न्यूनीकरण तथा रोकथाम गर्न हाम्रा विद्यालयहरुले बालिका शशक्तिकरण अभियान विद्यालयबाटै सञ्चालन गर्नु पर्ने बताउनुभयो । संघ र स्थानीय तहसँग सहकार्य गरी स्थानीय तहलाई नै जिम्मेवारी बनाउँदै प्रदेश सरकारले संबैधानिक कानुनी नेतृत्व प्रदान गर्नु पर्नेसमेत सामाजिक विकासमन्त्री राईले उल्लेख गर्नुभयो ।
कोशी प्रदेश सरकारको तर्फबाट सामाजिक विकासमन्त्री राईले बालविवाह न्यूनीकरण तथा रोकथाम गर्न नयाँ वर्ष प्रारम्भ भएको दिनबाट लागू गर्ने प्रतिवद्वता जनाउनुभएको छ ।



