५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गरिब, दलित र असहाय बालबालिकाका लागि निःशुल्क आवासीय विद्यालय



खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–३ काहुलेमा गरिब, दलित र असहाय बालबालिकालाई लक्षित गरेर निःशुल्क आवासीय शिक्षाका लागि विद्यालय सञ्चालनमा ल्याइएको छ । पहिलो चरणमा गाउँपालिकाभरिका १९ जना बालबालिका भर्ना गरेर आवाससहितको निःशुल्क शिक्षा उपलब्ध गराउन काहुलेस्थित लक्ष्मी माध्यमिक विद्यालयलाई आवासीय विद्यालय बनाइएको हो ।

गाउँपालिकाभित्रका गरिब, दलित र असहाय बालबालिकालाई शिक्षाको उज्यालो घामबाट वञ्चित हुन नदिन आवासीय विद्यालय सञ्चालन गरिएको गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दिक्षा’ले जानकारी दिनुभयो । “गरिब, दलित र असहाय बालबालिकाका लागि गाउँपालिकाको तर्फबाट खाना, खाजा, लत्ताकपडा र शैक्षिक सामग्रीसहित आवासको व्यवस्था मिलाएका छौँ । अब गाउँपालिकाभित्रका कुनै पनि बालबालिका शिक्षाको उज्यालो घामबाट वञ्चित हुनु पर्दैन”, उहाँले भन्नुभयो, “यसै शैक्षिकसत्रबाट शुरुवात गरिएको आवासीय शिक्षाका लागि यस वर्ष १९ जना बालबालिका भर्ना भएका छन् । आगामी दिनमा यसलाई बढाउँदै प्रभावकारीरुपमा सञ्चालन गर्ने योजना बनाइएको छ ।”

कक्षा–१० सम्म पठनपाठन हुने उक्त विद्यालयमा सञ्चालन गरिएको आवाससहितको निःशुल्क शिक्षा कार्यक्रमका लागि दुईजना शिक्षक तथा एकजना कर्मचारी व्यवस्थापन गरिएको गाउँपालिकाले जनाएको छ । विद्यालयमा खटिएका शिक्षक तथा कर्मचारीले चौबीसै घण्टा बालबालिकाको रेखदेख तथा अध्यापनको काम गर्ने गाउँपालिकाका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिनुभएको छ ।

तत्कालको लागि विद्यालयकै एउटा भवनमा सञ्चालित निःशुल्क आवासीय विद्यालय कार्यक्रमको औपचारिक उद्घाटन प्रतिनिधिसभा सदस्य एवम् कोशी प्रदेश सरकारका पूर्व उर्जा, जलश्रोत तथा खानेपानीमन्त्री रामकुमार राई ‘पासाङ’ले गर्नुभएको छ । गाउँपालिकाको लगानीमा गरिब, दलित र असहाय बालबालिकालाई लक्षित गरेर निःशुल्क आवासीय विद्यालय सञ्चालन भएपछि खर्च अभावका कारण पढाइ छाड्नुपर्ने अवस्थाका विद्यार्थीहरु लाभान्वित हुने अपेक्षा गरिएको छ ।

पहिलो चरणमा कक्षा–१ देखि १० सम्म सञ्चालन गरिएको निःशुल्क आवासीय शिक्षा कार्यक्रमलाई प्रभावकारिताको आधारमा थप गर्ने योजना बनाइएको गाउँपालिकाले जनाएको छ । शैक्षिकसत्रको शुरुबाटै सञ्चालन गरिएको निःशुल्क आवासीय शिक्षा कार्यक्रममा १५ जना छात्र र चारजना छात्रा सहभागी भएका छन् ।

आवासीय विद्यालयमा अध्ययन गर्न चाहने अन्य विद्यार्थीले वार्षिक रु ४० हजार उपलब्ध गराएको खण्डमा उनीहरुलाई समेत भर्ना गरेर सहभागी गराउन सकिने गाउँपालिकाले जनाएको छ । वि.सं. २०१४ सालमा स्थापना भएको उक्त विद्यालयमा २६५ जना विद्यार्थी अध्यनरत रहेको प्रधानाध्यापक कृष्णबहादुर राईले जानकारी दिनुभएको छ ।

आवासीय विद्यालय उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्यसमेत रहनुभएका नेता राईले मुलुकको शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिक विद्यालयहरुलाई आवासीय विद्यालयको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । “नेपाल सरकारको ठूलो लगानी रहेको सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर खस्कँदो अवस्थामा छ । ग्रामीण भेगका धेरै विद्यालयहरु विद्यार्थीको पहुँचभन्दा टाढा छन्”, उहाँले भन्नुभयो, “विद्यालय टाढा भएकै कारण कपिय विद्यार्थीले आफ्नो पढाइलाई निरन्तरता दिन पाएका छैनन् । अब बन्ने शिक्षा विद्येकमा सामुदायिक विद्यालयहरु आवासीय बनाउने नीति ल्याउन जरुरी छ ।”

प्रतिनिधिसभामा विचाराधीन अवस्थामा रहेको शिक्षा विधेयकमा आफूले सामुदायिक विद्यालयलाई पूर्ण आवासीय बनाउनुपर्ने प्रस्तावसमेत पेश गरेको सदस्य राईले जानकारी दिनुभयो । सामुदायिक विद्यालयमा राज्यको यति ठूलो लगानी भएर पनि खस्कँदै गएको शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि वर्तमान सरकारले बेलैमा ध्यान दिनुपर्नेमा सदस्य राईले जोड दिनुभएको छ ।

उद्घाटन कार्यक्रमलाई पूर्व वन तथा वातावरण राज्यमन्त्री शिवकुमार बस्नेत, प्रदेशसभा सदस्य एवम् सार्वजनिक लेखा समितिका सभापति राजन किराती ‘बासु’ लगायतले सम्बोधन गर्नुभएको थियो । जिल्लाको दक्षिण क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिकाले काहुलेमा सञ्चालन गरेको निःशुल्क आवासीय शिक्षा कार्यक्रम जिल्लामै पहिलो हो ।

शिक्षा क्षेत्रको सुधारमा लागिपरेको उक्त गाउँपालिकाले दुई वर्षदेखि छ जना छात्रछात्रालाई बाली विज्ञान विषयमा अध्यापन गराइरहेको छ । आफ्नो अध्ययन पूरा गरेपछि गाउँपालिकामै फर्किएर काम गर्ने सर्तमा छ जना छात्रछात्रालाई छात्रबृत्ति उपलब्ध गराइएको गाउँपालिका प्रमुख राईले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार ००:००  ५ : ४६ बजे