खोटाङ । नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल निजामती कर्मचारी युनियन खोटाङको अध्यक्षमा शम्भु तामाङ निर्विरोध चयन हुनुभएको छ । जिल्ला समन्वय समिति खोटोङको सभाहलमा गएराति सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुका तामाङ अध्यक्षमा निर्विरोध चयन हुनुभएको हो ।
तामाङको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन भएको हो।युनियनको खुला उपाध्यक्षमा चिरञ्जिवी आचार्य, समावेशी उपाध्यक्षमा भूपध्वज खत्री, महिला उपाध्यक्षमा ओमसरा राई, सचिवमा सुमन बास्तोला, सह–सचिवमा गिरिराज रानामगर र कोषाध्यक्षमा नवराज कटवाल चयन हुनुभएको छ । खुला सदस्यहरुमा डिल्लीप्रसाद ढकाल, खगेश्वर बञ्जारा, भोजराज आचार्य, महेश मिश्र, सन्तोष दाहाल, महिला सदस्यहरुमा कल्पना शर्मा र समिक्षा आचार्य तथा समावेशी सदस्यमा सुवास राई चयन हुनुभएको छ ।
समितिका अन्य तीनजना सदस्य पछि मनोनित गरिने नवनिर्वाचित अध्यक्ष तामाङले जानकारी दिनुभएको छ । पाँचजना प्रदेश प्रतिनिधिमध्ये एकजना चन्द्रमाया राई निर्विरोध चयन हुनुभएको छ ।
बाँकी चार जना सदस्यका लागि भएको निर्वाचनमा नवराज रिजालले ६५, योगेश श्रेष्ठले ८४, रविनकुमार फुयलले ८० र विवेक पराजुलीले ७४ मत पाएर निर्वाचित हुनुभएको निर्वाचन मण्डलले जानकारी दिएको छ ।
प्रदेश प्रतिनिधि निर्वाचनमा किरण राई ४० र विज्ञान राउत ३७ मत पाएर पराजित हुनुभएको छ । यस्तै, पाँचजना महाधिवेशन प्रतिनिधिमा जानुका श्रेष्ठ निर्विरोध चयन हुनुभएको जनाइएको छ ।
निर्वाचनमा सहभागी खेमराज आचार्यले ७९, प्रकाश घिमिरेले १०४, रमेश पोखरेलले १०० र रामकुमार राईले ७८ मत प्राप्त गरेर निर्वाचित हुनुभएको छ । विकास राई ४४ मत पाएर पराजित हुनुभएको छ ।
प्रदेश तथा महाधिवेशन प्रतिनिधिको निर्वाचनमा युनियनको १६९ जना मतदातामध्ये १२५ जनाले मात्रै मतदान गर्नुभएको थियो । जिल्ला अधिवेशनको उद्घाटन नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सचिव सान्तराज राईले गर्नुभएको थियो ।