२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङको सभापतिमा मुकुन्दकृष्ण थापा चयन



खोटाङ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङको जिल्ला सभापतिमा मुकुन्दकृष्ण थापा चयन हुनुभएको छ । रास्वपाले आज (शनिबार) दिक्तेल बजारमा आयोजना गरेको प्रथम जिल्ला भेलाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ निवासी थापालाई सभापतिमा बहुमतको आधारमा चयन गरेको हो ।

रास्वपा खोटाङको जिल्ला सभापतिमा नवनिर्वाचित थापासँगै डा.राजकुमार राई आकाङ्क्षी देखिनुभएको थियो । थापा र राईमध्ये एकजनालाई जिल्ला कार्यसमिति खोटाङको सभापतिमा चयन गर्न भेलामा सहभागी सदस्यहरुलाई अवसर दिँदा थापाको पक्षमा बहुसङ्ख्यक सदस्यहरु उभिएको रास्वपाले जनाएको छ ।

दिक्तेल बजारस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजित जिल्ला भेलाले थापाको नेतृत्वमा दश सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको जनाइएको छ । समितिको सचिवमा सुमन खत्री, सह–सचिवमा राजन अधिकारी र सदस्यहरुमा टङ्ककुमार मगर, प्रकाश अधिकारी र तारा दाहाल चयन हुनुभएको छ ।

एकजना उपसभापति र तीनजना सदस्य पछि समावेशी र भूगोलका आधारमा मनोनयन गर्नेगरी जिल्ला कार्यसमिति चयन गरिएको रास्वपा खोटाङले जनाएको छ । पेशाले सिभिज इन्जिनियर रहनुभएका नवनिर्वाचित सभापति थापा यसअघि सङ्घीय जिल्ला निर्वाचन क्षेत्र समिति सचिवको भूमिकामा हुनुहुन्थ्यो ।

जिल्ला भेलामा रास्वपाका केन्द्रीय सह–प्रवक्ता रमेश प्रसाइँ, केन्द्रीय सदस्य एवम् प्रतिनिधिसा सदस्य तोषिमा कार्की, कोशी प्रदेश समितिका उपसभापति सरिन तामाङ, महामन्त्री लालबिक्रम थापा लगायतले सम्बोधन गर्नुभएको थियो । जिल्ला भेलालाई सम्बोधन गर्नुहुने नेताहरुले पूराना पार्टीका नेताहरुले देश विकास गर्नुको सट्टा आफ्नो स्वार्थपूर्ति गर्न लागिपरेकाले विकल्पको रुपमा आफूहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापना गरेको प्रस्ट्याएका छन् ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित स्थानीय हेलिप्याडमा आयोजना गरिएको कार्यक्रममा जिल्लाभरबाट रास्वपा समर्थक नेता कार्यकर्ता सहभागी भएका थिए । रास्वपाको कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि तथा सहभागी सबै चउरमा पङ्क्तिवद्ध भएर बसेका थिए ।

जिल्ला कार्यसमिति चयन गर्नेगरी आयोजित रास्वपाको प्रथम जिल्ला भेलाको अध्यक्षता डा. राजकुमार राईले गर्नुभएको थियो । प्रथम जिल्ला भेला सम्पन्न भएलगत्तै सहप्रवक्ता प्रसाइँ र सदस्य कार्की आजै बेलुका छिमेकी जिल्ला ओखलढुङ्गा जानुभएको रास्वपाका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर कार्यसमितिका संयोजक पर्शुराम थापा ‘आशिष’ले जानकारी दिनुभएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा रास्वपाले यसअघि चारवटा स्थानीय तहमा आफ्नो सङ्गठन बिस्तार गरिसकेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा खोटेहाङ, जन्तेढुङ्गा र बराहपोरी गाउँपालिकामा रास्वपाले झण्डै पाँच महिनाअघि पालिकास्तरीय समिति गठन गरेको हो ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार ००:००  ६ : ५१ बजे