२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केपिलासगढी : गाउँ कार्यपालिकाको नियमित बैठक किरात ऐतिहासिकस्थल केपिलासगढीमा



खोटाङ । केपिलासगढी गाउँपालिका खोटाङले गाउँ कार्यपालिकाको नियमित बैठक किरात ऐतिहासिकस्थल केपिलासगढीमा सञ्चालन गरेको छ । गाउँपालिकाको सुविधा सम्पन्न सभाहलमा सञ्चालन हुँदै आएको नियमित बैठक यसपटक भने ऐतिहासिकस्थल केपिलासगढीको खुला चउरमा सञ्चालन भएको हो ।

केपिलासगढी गाउँपालिकाका अधिकांश जनप्रतिनिधि आफ्नै पालिकामा अवस्थित किरात ऐतिहासिकस्थल केपिलासगढी नपुगेकाले बैठकको माध्यमबाट उक्त ऐतिहासिकस्थलको भ्रमण गराइएको प्रमुख प्रशासकीय अधिकृत सौधन राई ‘युनिक’ले जानकारी दिनुभयो । “गाउँपालिकाको नामाकरणको आधारसमेत रहेको किरात ऐतिहासिक केपिलासगढीमा गाउँ कार्यपालिकाका अधिकांश सदस्य पुग्नुभएको थिएन । बैठकको माध्यमबाट उहाँहरुलाई ऐतिहासिकस्थलको भ्रमण गराइएको छ”, उहाँले भन्नुभयो, “कार्यपालिकाको बैठकले ऐतिहासिकस्थल केपिलासगढीको संरक्षण तथा प्रवद्र्धन गर्ने निर्णय गरेको छ । यसका लागि आगामी आर्थिक वर्ष बजेट तथा कार्यक्रम ल्याउने कार्यपालिका बैठकमा सहभागी जनप्रतिनिधिहरुबीच सहमति भएको छ ।”

कार्यपालिकाको बैठकमा किरात ऐतिहासिकस्थल केपिलासगढीको बारेमा पाटन संयुक्त क्याम्पस काठमाडौँका पूर्वप्राध्यापक एवम् संस्कृति विज्ञ चतुरभक्त राईले कार्यपत्रसमेत प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा केपिलासगढी, यसको ऐतिहासिक पक्ष, यसमा गरिएका प्रयासहरू, अब गरिनुपर्ने कार्यक्रमहरुसमेत उल्लेख गरिएको छ ।

गाउँपालिकाको सभाहलमा राखिएको सोफामा बसेर गरिने नियमित बैठक यसपटक किरात ऐतिहासिकस्थल केपिलासगढीको खुला चउरमा म्याट र दुबोमा बसेर सञ्चालन गरिएको गाउँपालिका प्रमुख समिर राईले जानकारी दिनुभयो । बैठकमा सहभागी जनप्रतिनिधि तथा कर्मचारीका लागि थुन्चेमा बोकेर लगिएको सेलरोटी, अचार र सुठुनीका साथै स्थानीय किवीको जुस खाजाको रुपमा उपलब्ध गराइएको थियो ।

केपिलासगढी दरबार क्षेत्रमा पुरातत्व विभागको परामर्श र डिभिजन वन कार्यालय खोटाङको सहयोगमा भग्नावशेष संरक्षण गर्ने, गाउँपालिकाको पहलमा विभिन्न जातको गुराँसका बिरुवा रोप्ने लगायतका क्रियाकलाप गरिएको छ । सिमेन्टको कङ्क्रिट प्रयोग गरेर निर्माण गरिएको बन्द कोठाको सट्टा प्रकृतिको काखमा बसेर पहिलो पटक कार्यपालिकाको नियमित बैठक सञ्चालन गरिएको हो ।

जलवायु परिवर्तनको असरबाट जोखिम क्षेत्रमा पर्ने केपिलासगढी गाउँपालिकाले जलवायुको असर न्यूनिकरणको लागि आफ्नो वार्षिक नीति, कार्यक्रम साथै विभिन्न गैरसरकारी संस्थासँगको सहकार्यमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । जलवायु असर न्यूनिकरण गर्नुपर्ने साङ्केतिक अभियान र प्रयासको रूपमा समेत आज (बिहीबार)को बैठक प्रकृतिमा गएर सञ्चालन गरिएको हो ।

बैठकमा पूर्वप्राध्यापक, समाजसेवी एवम् संस्कृति विज्ञ चतुरभक्त राईलाई गाउँपालिकाको तर्फबाट कदरपत्रसहित सम्मानसमेत गरिएको गाउँपालिका उपप्रमुख गुरुराज राईले जानकारी दिनुभयो । केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजार नजिकै रहेको किरात ऐतिहासिकस्थल केपिलासगढी संरक्षण गर्नुका साथै सामाजिक, साँस्कृतिक र पर्यावरणीय क्षेत्रमा पु¥याउनुभएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको हो ।

केपिलासगढीमा वि.सं. १८३० सालसम्म किराती राजा निगुहाङले राज गरेको प्रमाण भेटिएको छ । तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपाल एकीकृत गर्नेक्रममा अमरसिं थापा नेतृत्वमा आएको सैन्य टोलीले केपिलासगढी कब्जा गरेको जनाइएको छ ।

बाक्सिला बजार नजिकै रहेको केपिलासगढीमा राजा बस्ने दरबार, सैनिक क्याम्प, बङ्कर लगायतका संरचना अझै देख्न सकिन्छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने केपिलासगढीलाई संस्कृति विज्ञ चतुरभक्त राईकै नेतृत्वमा संरक्षण गरेर राखिएको छ ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहिबार ००:००  ६ : ५० बजे