खोटाङ । केपिलासगढी गाउँपालिका–३ बास्पानीस्थित राँटीमा सुमो दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएका छन् । काठमाडौँबाट यात्रु लिएर केपिलासगढी गाउँपालिका–१ फेदीतर्फ गइरहेको ना १ ज ७१८१ नम्बरको सुमो आज (दिउँसो) राँटीमा दुर्घटना हुँदा फेदीका ७२ वर्षीय दुर्गाप्रसाद राई गम्भीर घाइते हुनुभएको हो ।
दुर्घटनाका घाइते राईको स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि एम्बुलेन्समा चढाएर थप उपचारका लागि जिल्ला अस्पताल खोटाङ पठाइएको गाउँपालिका प्रमुख समिर राईले जानकारी दिनुभएको छ । दुर्घटनास्थलबाट अचेत अवस्थामा उद्दार गरिएका घाइते राईको शरीरको विभिन्न अङ्गमा गहिरो चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।
सडक अवरुद्ध गर्नेगरी ढलेको बाँसले सुमो रोकेपछि सोही ठाउँमा रोकेर पन्छाउन झर्दा सुमो दुर्घटना भएको पाइएको प्रहरीले जनाएको छ । सडकमै रोकेर राखेको ठाउँबाट आफै सुमो दुर्घटना भएपछि फरार भएका चालक इश्वरधन राई प्रहरी चौकी खार्मीको सम्पर्कमा पुगेको जनाइएको छ ।
काठमाडौँबाट यात्रु लिएर आएको सुमो बीचबीचमा पर्ने गाउँका यात्रु ओराल्दै फेदीतर्फ जानेक्रममा रोकेर राखेको अवस्थामा दुर्घटना भएको जनाइएको छ । एकजना मात्र यात्रु लिएर फेदी जाँदै गरेको सुमो सडकभन्दा करिब २०० मिटर तल झरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
घटनाको बारेमा अनुसन्धान गर्न जिल्लाबाट प्रहरी निरीक्षक मोहन पोखरेलको नेतृत्वमा टोली पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिनुभयो ।