खोटाङ । रावाबेँसी गाउँपालिका–६ हौँचुरका ज्येष्ठ नागरिकलाई जाडो छल्न फाइबरको न्यानो सिरक प्रदान गरेको छ । वडा कार्यालयबाट जेष्ठ नागरिक सम्मान शीर्षकमा विनियोजित बजेटले खरिद गरिएको फाइबरको सिरक ४५ जना ज्येष्ठ नागरिकलाई प्रदान गरिएको हो ।
ज्येष्ठ नागरिकको सम्मानसहित उहाँहरुलाई चिसोबाट बचाउन फाइबरको न्यानो सिरक उपलब्ध गराइएको हौँचुरका वडाध्यक्ष चिरञ्जीवि कार्कीले बताउनुभयो । वडामा रहनुभएका ज्येष्ठ नागरिकमध्ये बिपन्न समुदायका जेष्ठ नागरिकलाई छनोट गरेर जाडो छल्ने फाइबरको सिरक उपलब्ध गराएको बताइएको छ ।
चालु आर्थिक वर्ष २०८१÷०८२ मा वडाबाट ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम अन्तरगत जाडोको समयमा न्यानो सिरक प्रदान गरेर ज्येष्ठ नागरिकलाई सम्मान गरिएको वडाध्यक्ष कार्कीले बताउनुभयो । जाडोको मौषममा वडा कार्यालयले निःशुल्करुपमा न्यानो सिरक उपलब्ध गराएपछि जेष्ठ नागरिकहरु हर्षित भएका छन् ।
गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठ, उपप्रमुख कौशिला गुरुङ, प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी लगायतको उपस्थितिमा ज्येष्ठ नागरिकलाई फाइबरको सिरक हस्तान्तरण गरिएको जनाइएको छ ।