१३ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ल्यायो ५० करोड ७७ लाख ६३ हजार बराबरको बजेट



खोटाङ, ११ असार । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ का लागि रु ५० करोड ७७ लाख ६३ हजार बराबरको बजेट ल्याएको छ । गाउँपालिकाको सोमबार सम्पन्न १५ औँ गाउँसभामा गाउँपालिका उपप्रमुख अरुण थापामगरले बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

गाउँपालिका प्रमुख लोकेन्द्र राईले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा बसाइँ सरेर अन्यत्रै बसोबास गरिरहेका नागरिकहरू र उनीहरूका सन्ततिहरूलाई गाउँपालिकामा रहेका विभिन्न प्राकृतिक, धार्मिक, पुरातात्विक, ऐतिहासिक तथा साँस्कृतिक सम्पदा र सौन्दर्यताको पारख गर्न ‘घर फर्क परदेशी, दिप्रुङ चुइचुम्माले डाक्दैछ’ भन्ने नाराका साथ घरेलु पर्यटन विकास गर्ने नीति तथा कार्यक्रम ल्याएको छ । यस्तै, हाल गाउँपालिकामा प्रभावकारी बनेको ‘हेल्लो डक्टर कार्यक्रम’लाई कुनै एक स्वास्थ्य संस्थाबाट चौबीसै घण्टा स्वास्थ्य सेवा प्रदान गर्ने, आधारभूत अस्पताल एवम् हेल्लो डाक्टरको कार्यक्रम सञ्चालन भइरहेको स्वास्थ्य चौकी, ओख्रेमा आवश्यक स्वास्थ्य उपकरण सहित ल्याब विस्तार र व्यवस्थित गर्दै लैजाने नीति सार्वजनिक गरिएको छ ।

दीर्घ रोगीहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै टोल–टोलमा स्वास्थ्य सेवा सञ्चालनमा ल्याइने गाउँसभामा सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ । गाउँपालिकाले पशु तथा कृषि प्रवर्द्वन लागि ‘एक गाउँ, एक उत्पादन कार्यक्रम’ साझेदारी नीति अवलम्वन गर्ने, पशुपन्क्षी बीमा कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्ने, कृषकको घरमा कृषि प्राविधिक पुगि सबै कृषकको घरमा कृषि तथा भेटेनरी सेवा उपलब्ध गराउन किसान घरदैलो सेवा कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ ।

गाउँपालिकाको समग्र सार्वजनिक सेवा प्रवाहको गुणस्तर कायम गरी नागरिकप्रति जवाफदेही बनाउन प्रत्येक शुक्रबार ‘नागरिकसँग अध्यक्ष भेटघाट कार्यक्रम’ सञ्चालन गर्ने लगायतका नीति तथा कार्यक्रम अघि सारिएको छ । गाउँपालिकाले यसअघिदेखि सञ्चालन गरिरहेको हेल्लो डाक्टरको कार्यक्रम प्रभावकारी भएको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार ००:००  ४ : ५२ बजे