विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सडक दुर्घटना र त्यसबाट घाइते हुनेको अवस्था भयावह भएकाले यसलाई न्यूनिकरण गर्न व्यक्ति स्वयम सचेत हुनुपर्ने बताउनुभएको छ । बिहीबार विराटनगरमा ट्राफिक सचेतना कार्यक्रमको उद्घाटन समारोहमा मुख्यमन्त्री कार्कीले दुर्घटनाको अवस्था भयावह भएको उल्लेख गर्दै यसका लागि हामी सबैको सामुहिक प्रतिवद्धताको आवश्यकता रहेको औल्याउनुभयो । उहाँले दुर्घटनाबाट सयौंको संख्यामा मानिसहरुको मृत्यु भइरहेको र घाइते हजारौ भएको उल्लेख गर्दै यसको न्यूनिकरणको लागि चालक, सहचालक र व्यक्ति स्वयम सचेत र चनाखो हुनुपर्ने बताउनुभयो । कोशी प्रदेशको आन्तरीक मामिला तथा कानुन मन्त्रालय र नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको आयोजनामा भएको कार्यक्रममा उहाँले आगामी वर्षमा ५० प्रतिशत दुर्घटना न्यूनिकरण गर्ने गरी काम गर्न आग्रह गर्नुभयो ।
प्रदेश सरकारले ट्राफिक प्रहरीलाई व्यवस्थापन गर्न आवश्यक स्रोत साधन सहयोग गर्ने नीति लिएको उल्लेख गर्दै उहाँले ट्राफिक प्रहरीको संख्या बढाउन पनि प्रहरी तयार हुनुपर्ने बिचार व्यक्त गर्नुभयो । झापा, मोरङ र सुनसरीको कुनै निश्चित क्षेत्रमा नमूना ट्राफिक व्यवस्थापनमा नमूना सडक घोषणा गरेर कार्यक्रम गरेको खण्डमा सकात्मक प्रचार हुने र यसका लागि ट्राफिक प्रहरीले सरकारसँग समन्वय गरेर काम गर्न मुख्यमन्त्री कार्कीले निर्देशन दिनुभयो ।
ट्राफिक सप्ताहको समयलाई पुनः बिचार गरेर दशैं, तिहार जस्ता पर्व अघि अथवा वैशाखमा यो कार्यक्रम गर्न सुझाब दिदै मुख्यमन्त्री कार्कीले यसो गरेमा कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले ट्राफिक सचेतना घर घरमा पुर्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले ट्राफिक प्रहरीलाई आधुनिकीकरण गरेर लैजान सरकार लागि परेको बताउनुभयो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक चन्द्रकुवेर खाँपुङले सडक दुर्घटना न्यूनीकरणमा राज्यको ध्यान गम्भिर रुपमा नगएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई, यातायात व्यवसायी सरोज श्रेष्ठ, ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी उपरीक्षक सरोज पौडेललगातयले बोल्नुभएको थियो । असार ६ गतेबाट सुरु भएको ट्राफिक सप्ताह असार १२ गतेसम्म संचालन हुनेछ । अभियान भरीमा विभिन्न सचेतना मुलक कार्यक्रम गर्ने तयारी छ ।