खोटाङ । हलेसी तुवाचुङ नगरपालिका खोटाङका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले जाजरकोट र रुकुमका भूकम्पपीडित परिवारका लागि राहतस्वरुप आर्थिक सहयोग उपलब्ध गराएका छन् ।
नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकगरी ७०४ जना व्यक्तिले नियमित पाउने दुई दिनको तलबभत्ता नगरपालिकाको तर्फबाट कटाएर एघार लाख ५१ हजार १०० भूकम्पपीडितका लागि राहतस्वरुप आर्थिक सहयोग रकम उपलब्ध गराएको हो ।
भूकम्पपीडितका लागि राहतस्वरुप सङ्कलन गरिएको रकम प्रधानमन्त्री दैविप्रकोप उद्दार कोषमा जम्मा गरिएको नगर प्रमुख विमला राईले जानकारी दिनुभएको छ ।गत “कातिक–१७ गते राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले जाजरकोट, रुकुम र आसपासका जिल्लाहरुमा ठूलो जनधनको क्षति भएको छ । यसप्रति हाम्रो नगरपालिका दुःख व्यक्त गर्दछ ।
यो संवेदनशील घडीमा नगर कार्यपालिकाको कातिक–१९ गते बसेको बैठकको निर्णयअनुसारले जनप्रतिनिधि, कर्मचारी र शिक्षकले पाउने दुई दिनको तलबभत्ता कटाएर भूकम्पपीडितका लागि राहतस्वरुप एघार लाख ५१ हजार १०० रकम उपलब्ध गराइएको छ”, नगर प्रमुख राईले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ।
“भूकम्पका कारण मृत्यु भएका व्यक्तिहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्दछौँ ।”
दश स्थानीय तह रहेको खोटाङ जिल्लाबाट जाजरकोट र रुकुमका भूकम्पपीडितका लागि राहतस्वरुप सहयोग रकम उपलब्ध गराउने हलेसी तुवाचुङ नगरपालिका पहिलो बनेको छ ।