३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भ्रष्टाचार मुद्दामा मुछिएका खोटाङका प्रजिअ खतिवडा निलम्बित



खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा निलम्बनमा परेका छन् । यस अघि ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा विद्युत् विस्तारमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेपछि खतिवडा निलम्बनमा परेका हुन् ।

आर्थिक वर्ष २०७५÷०७६ मा सिद्धिचरण नगरपालिकाको वडा नं. १० मा विद्युतीकरणको कार्यमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । विद्युत विस्तारमा आवश्यक तार, पोल ट्रान्सफर्मर खरिद एवं निर्माण आयोजनामा भ्रष्टाचार भएको अख्तियारले जनाएको छ । उनिहरुले फर्जी बिल बनाएर ४ लाख ७७ हजार ८ सय ९९ रुपैयाँ भ्रष्टाचार गरेको अदालतको ठहर छ ।

खतिवडासँगै विद्युत प्राधिकरण, ओखलढुंगा वितरण केन्द्रका तत्कालीन कार्यालय प्रमुख सञ्जीव साह, वडा नम्बर १० का तत्कालीन वडा अध्यक्ष दामोदर धमला, तत्कालीन इन्जिनियर अमृतकुमार दाहाल र तत्कालीन खानेपानी तथा सरसफाइ प्राविधिक दिलकुमार बुढाथोकीविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

भ्रष्टाचारको मुद्दा लागेपछि आइतबारबाटै खतिवडालाई निलम्बन गरेको गृह मन्त्रालयले जनाएको छ । खतिवडा निलम्बनमा परेपछि अर्का प्रजिअ पठाउने निर्णय भने भइसकेको छैन् । हाललाई सहायक प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश शाहले निमित्त प्रजिअको भूमिका निर्वाह गर्ने मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार ००:००  ९ : ०८ बजे