खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान काभ्रेकी १७ वर्षीया किशोरी रञ्जिता दाहालको मृत्यु प्रकरणमा एकजना पक्राउ परेका छन् । किशोरी मृत अवस्थामा फेला परेपछि अनुसन्धानबाट रावाबेँसी गाउँपालिका–५ दुवेकोलका २५ वर्षीय अनन्त बिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
बिकलाई बुधबार महादेवस्थान काभ्रेस्थित घरैबाट नियन्त्रणमा लिई ज्यान सम्बन्धी कसूर अन्तर्गत शुक्रबार जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
बालिका महेन्द्रोद्धय माबि हलेसीमा कक्षा १० मा अध्ययनत थिईन् । ३ माघदेखि विद्यालयमा आयोजना गरिएको नगरस्तरिय भलिबल, फुटबल र नृत्य प्रतियोगीताको तयारीका लागि रञ्जिता गाउँकै साथीसँग विद्यालय पुगेकी थिईन् ।
प्रतियोगीताको तयारी सकेपछि उनी साथीसँगै दिउँसो साँढे तीन बजेतिर घर फर्केकी थिईन् । बाटैमा पर्ने साथीको घरमा रोटी खान आग्रह गर्दा हतार छ भन्दै रोटी बोकेर हिँडेकी वालिका घरभन्दा करिब दुई सयमिटर टाढा मृत फेला परेकी थिइन ।