खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले एकीकृत सेवा प्रवाह कार्यक्रममार्फत बाहुनीडाडा पुगेर सेवा दिएको छ । विहिबार नगरपालिकाले -१ बाहुनीडाडामा सामाजिक सुरक्षा भत्ता, योजना सम्झौता, अपाङ्ग परिचय पत्र, बालिका बचत भौचर हस्तान्तरण र स्वास्थ्य शिविर गरी पाँच प्रकारका सेवा प्रवाह गरेको हो ।
सेवा प्रवाह कार्यक्रममा ७ वटा योजना सम्झौता, १ सय ६१ जनालाई सामाजिक सुरक्षा भत्ता, ६ वटा बालिका बचत कार्यक्रमको भौचर हस्तान्तरण गरिएको छ भने ८ वटा अपाङ्ग परिचयपत्र र ५६ जना जेष्ठ नागरीकको स्वास्थ्य परीक्षण गरीएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख बिमला राईले बताउनु भयो । `पालिकाबाट भौगोलिक दुरिमा रहेको बाहुनिडाँडाका सर्वसाधारणहरूको सहजता, समय र श्रोत वचतका लागि यो सेवा प्रवाह गरीएको हो ।´´ उहाँले भन्नुभयो ।
सामाजिक सुरक्षा भत्ता लिन हलेसी पुग्दै आएका सर्वसाधारणहरुले आफ्नै गाउँमा बिना झन्झट भत्ता पाउदा खुसी व्यक्त गरेका छन् । त्यसैगरी यसपटक योजना संम्झौताको काम वडामा हुँदा हर्षित भएको र आउदा दिनहरुमा पनि वडामै योजना संम्झौता भईदिए सहज हुने स्थानीयवासीको भनाई छ ।
यस अघि राजापानीमा एकीकृत सेवा प्रवाह कार्यक्रम सञ्चालन गरीएको थियो भने सबै वडाहरूमा सामाजिक सुरक्षा भत्ता र योजना सम्झौता कार्यक्रम सञ्चालन गरीने नगरपालिकाले जनाएको छ ।