खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले महिलाहरुको पाठेघर जोगाउन स्वास्थ्यकर्मीलाई प्रत्येक घरमा पठाउने भएको छ । पाठेघर (आङ) खस्ने महिलाहरुको मुख्य समस्याको रुपमा रहेकाले त्यसको उपचारका लागि प्रत्येक घरमा स्वाथ्यकर्मी खटाउन लागिएको नगरपालिकाले जनाएको छ ।
महिलाको पाठेघरको उपचारकालागि नगरपालिकाले तीन चरणको कार्यक्रम तयार गरेको छ । पहिलो चरणको कार्यक्रम अन्तरगत शुक्रबार ११ वटै वडाका स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिएको छ । पाठेघरको रोग पहिचान र त्यसको उपचार सम्बन्धि सुनौलो परिवार नेपाल संस्थाबाट प्रशिक्षक ल्याएर नगरपालिकाका स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिएको नगर स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले जानकारी दिनुभयो ।
दोस्रो चरणको कार्यक्रम अन्तरगत तालिम लिएका स्वास्थ्यकर्मीहरु माघ १ गतेबाट ९ गतेसम्म नगरपालिकाको प्रत्येक घरमा पुग्नेछन् । एक जना सहयोगी लिएर स्वास्थ्यकर्मीहरु आफ्नो वडाको प्रत्येक घरमा पुगेर महिलाहरुको पाठेघर परिक्षण गर्नेछन् । परिक्षण पश्चात पाठेघर अर्थात (आङ) खस्ने समस्याको पहिलो र दोस्रो चरण भएमा स्वाथ्यकर्मीहरुले तत्काल रिङप्रेसरी लगाउने लगायतका उपचार गर्नेछन् । (आङ) खस्ने तेस्रो वा चौथो चरण पुगेको अवस्थामा शल्यक्रिया मार्फत उपचार गर्नुपर्ने भएकाले त्यस्ता महिलाहरुको तथ्याङ्क संकलन गरिने घिमिरेले बताउनुभयो ।
कार्यक्रमको तेस्रो चरण अन्तरगत जिल्ला अस्पताल दिक्तेलमा बाहिरबाट दक्ष चिकित्सक ल्याएर उक्त महिलाहरुको शल्यक्रियामार्फत उपचार गरिनेछ । ब्लड बैंक जिल्ला अस्पतालमा भएकाले नगरपालिकाले आफ्नो लगानीमा दिक्तेलमा ल्याएर (आङ) खस्ने तेस्रो वा चौथो चरण पुगेकाका महिलाहरुको उपचार गर्नेछ । दिक्तेलमा असम्भव भएमा अन्य अस्पतालमा लगेर भएपनि निशुल्क नगरपालिकाले उपचार गरिदिने मेयर विमला राईले बताउनुभयो ।
मानव बस्ने पहिलो घर पाठेघर भएकाले त्यसलाई जोगाउन नगरपालिका लागेको मेयर राईको भनाइ छ । ‘पाठेघर खस्ने समस्या सबै उमेरका महिलाहरुमा हुने रहेछ, बिशेषगरी उमेर बढ्दै गएपछि बृद्ध अवस्थामा आमाहरुमा यस्तो समस्या देखिदो रहेछ । अघिल्लो आर्थीक वर्षमा हामीले केही ठाउँमा शिविर सञ्चालन गरेका थियौँ ।
उक्त समयमा स्वास्थ्यकर्मीले खिजेका पाठेघर खसेको तस्विर हेर्दा मन धेरै दुख्यो । त्यसैले हामी जनप्रतिनिधिले नागरिकको दुख बुझ्नु पर्छ भनेर यस कार्यक्रम सुरु गर्ने निणर्य गरेका हौँ ।’ मेयर राईले भन्नुभयो ।
नगरपालिकाले अघिल्लो आर्थीक वर्षमा बाहुनीडाँडाको झाप्पा, अर्खौलेको नवलपुर, सल्ले र मंगलटार गरी ४ ठाउँमा पाठेघर खसेका महिलाहरुको उपचारका लागि शिविर सञ्चालन गरेको थियो । महिलाहरुमा उक्त समस्या धेरै देखिएपनि विभिन्न कारणले शिविरमा कम उपस्थित भएकाले घरमै गएर समस्या पत्ता लगादै उपचार गर्ने कार्यक्रम तयार पारिएको मेयर राईले बताउनुभयो ।