खोटाङ,२३ असार । बहुचर्चित दुधकोशी जलाशययुक्त जल विद्युत आयोजनाले विधुत गृह र डयामसम्म साँढे तीन किलोमिटर सडक निर्माण गरिने भएको छ। हलेसी तुवाचुङ नगरपालिका-८ धितुङको रातेखोलादेखि आयोजनास्थल बैकुखोलासम्म(३.५किमि)आयोजनाको काममा आउजाउ गर्न सडक निर्माण गरिने भएको हो।
सडक निर्माणका लागि बिहीबार हलेसी तुवाचुङ नगरपालिकासँग आयोजनाले सम्झौता गरेको छ। नगर प्रमुख बिमला राई र दुधकोशी जलाशययुक्त जलविद्युत आयोजनाका प्रबन्धक बसन्तध्वज श्रेष्ठबीच एक करोड बजेट बराबरको सम्झौता पत्रमा हस्ताक्षर भएको नगरपालिकाले जनाएको छ।
सम्झौता भएको मितिले विधुत गहृ र डयामसम्म ९ महिना भित्र सडक निर्माण गर्नुपर्ने सम्झौता पत्रमा उल्लेख छ। सडक निर्माणका लागि नगरपालिकाले १० प्रतिशत लगानी गर्ने नगर प्रमुख राईले जानकारी दिनुभयो ।
रावाबेंशी गाउँपालिका-३ लामीडाँडाको रँभुवाबजार र ओखलढुंगाको चिसंखुगढी गाउँपालिका-६ भदौरेको सिमानामा ६३५ मेगावट जलविद्युत आयोजनाको काम अघि बढिरहेको छ। रँभुवाबजारमा २०० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट १३.३० किलोमिटर हेडरेस सुरुङमार्फत धितुङमा पानी खसाएर विद्युत उत्पादन हुनेछ।