काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावी तालमेल गर्नेरनगर्ने अधिकार स्थानीय कमिटीलाई भएकाले धेरै दवावमा रहेर तालमेलको सकस नभोग्न निर्देशन दिनुभएको छ ।
बुढानीलकण्ठमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले तालमेल गर्ने वा नगर्ने भन्ने विषयमा पार्टीको तल्लो कमिटी स्वतन्त्र रहेका कारण दवाव र प्रभावमा नपर्न भन्नुभएको हो ।
पर्सामा तालमेल नगर्ने र गुल्मीमा तालमेल गर्ने निर्णय भएको उदाहरण दिंदै उहाँले भन्नुभयो, ‘पार्टीको निर्णयबारे कोही अलमलिनु पर्दैन ।
स्थानीय तहका साथीहरूले तालमेल गर्ने निर्णय गर्न पनि पाउनु हुन्छ नगर्ने निर्णय गर्न पनि पाउनुहुन्छ । कसैले लाद्न पाउँदैन ।’
गठबन्धनको केन्द्रीय संयन्त्रले स्थानीय तहमा आफ्नो अवस्था र आवश्यकता अनुसार तालमेल गर्न सक्ने निर्णय गरेको भन्दै उहाँले यसको अधिकार तल्लो कमिटीलाई भएको स्पष्ट पार्नुभयो ।
महामन्त्री थापाले नेपाली कांग्रेस एक्लै चुनाव लड्न सक्ने बताउँदै अन्य दलहरू (कम्युनिष्ट) गठबन्धन गरेर जाने र एकतासमेत गर्नसक्ने सम्भावना भएकोले त्यसलाई रोक्न पार्टीले यस्तो निर्णय गरेको बताउनुभयो । जनबोली डटकम